प्रदेश १ स्वास्थ्य

स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने घोषणा

विराटनगर, २६ चैत । स्वास्थ्यकर्मीहरुले उपचारमा खटिँदा आवश्यक पर्ने सुरक्षा सामग्रीको जोहो गर्न माग गरिरहेका बेला कोरोना उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मी र कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

हिजो बसेको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार सरकारले कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताउनुभयो ।

उपचार प्रक्रियामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीलाई यस्तो क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले लिएको हो । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । तर, परीक्षण दर ज्यादै सुस्त हुँदा ढुक्क हुने अवस्था नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

हिजोसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६ सय १३ जना क्वारेन्टाइनमा छन । त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *