समाचार

सिमावर्ती क्षेत्रमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउने तयारी

विराटनगर, ४ जेठ । झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई भोलि देखि नेपाल ल्याउने तयारी भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिती झापाको संयोजनमा बसेको बैठकले लकडाउन कारण सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो ।

प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहित सरोकारवालाहरुको बैठकले सिमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो ।

भोलि करिब ३ सय नेपालीलाई काँकडभिट्टा नाकाबाट ल्याउने गरि व्यवस्थापनको तयारी भइरहेको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितीले जनाएको छ । त्यसपछि भने सिमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्रमशः प्रवेश दिइनेछ ।

नेपाल आएका नागरिकलाई केही दिन जिल्लामा स्थापना गरिएको ‘होल्डिङ्ग पोइन्ट’ मा राखिनेछ । हाललाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनलाई नै ‘होल्डिङ्ग पोइन्ट’ का रुपमा प्रयोग गर्ने बताइएको छ ।

उनीहरुलाई राख्न पछिल्लो पटक मेची बहुमुखी क्याम्पसमा २ सय बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्लाभर ७ सय ५० बेड क्षमताको क्वारेन्टाइन तयार भइसकेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *