विराटनगर

सामूहिक बलात्कारमा संलग्न चार जना पक्राउ

विराटनगर, ११ वैशाख । सामूहिक बलात्कारमा संलग्न रहेका चार जनालाई प्रहरीले मोरङको बूढीगंगा गाउँपालिकाबाट घटना भएको लामो समयपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–का २० वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, इन्द्र भनिने किशोर राई र लक्ष्मण राई रहेका छन् ।

घटना भएको लगभग तीन महिनापछि उनीहरु पक्राउ परेका हुन् । बलात्कारमा संलग्न रोशन मगर फरार छन् । प्रहरीका अनुसार भैरहवा घर भएका उनी बूढीगंगास्थित ठूलीआमाको घरमा आएका बेला घटनामा संलग्न भएको खुलेको छ ।

पाँच जना मिलेर १७ वर्षीया किशोरीलाई २०७६ साल माघ १५ गते राति सामूहिक बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँकाअनुसार घटनामा संलग्न मध्ये लक्ष्मणले ती किशोरीलाई प्रेमको नाटक गर्दै आफूसँग नजिक बनाएका थिए ।

आकस्मिक काम परेको भन्दै किशोरीलाई रोशनले फोन गरेर रातको समयमा भेट्न बोलाएपछि सबै जना मिलेर मलाहा खोलाको घारीमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको डीएसपी राईले बताउनु भयो । त्यसपछि युवाहरुले किशोरीलाई बारम्बार मानसिक तनाव दिइरहेको पनि खुलेको छ ।

त्यस क्रममा घटनामा संलग्न इन्द्र भनिने किशोर राईले हिजो साँझ घरमै गएर गाली गलौज गर्दै किशोरीसँग झगडा गरिरहेको देखेपछि गाउँलेले प्रहरीलाई खवर गरिदिएका थिए । गाउँलेले दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएपछि सामूहिक बलात्कारको पुरानो घटना बाहिरिएको हो ।

यो कुरा कोही कसैलाई भनेमा हत्या गर्नेसम्मको धम्की दिइएका कारण डरले पीडित किशोरीले लामो समयदेखि घटना लुकाइ राखेको पत्ता लागेको प्रहरीको भनाइ छ । युवाहरुले घरमै आएर बारम्बार मानसिक तनाव दिँदै विभिन्न धम्कीहरु दिने र झगडा गर्ने गरिरहे पनि डर र त्रासका कारण कोही कसैलाई सुनाउन भने नसकेको किशोरीले प्रहरीलाई बताएकी छन् ।

प्रहरीका अनुसार किशोरीका बुवाको यस अघि नै निधन भइसकेको छ । आमा एक वर्ष अघि वैदेशिक रोजगारीका लागि कुवेत गएपछि घरमा ८ र १२ वर्षका बहिनीको रेखदेख गरेर आफू पनि पढ्दै किशोरी बसेकी थिइन् । उनी एक विद्यालयको कक्षा ८ मा अध्ययरत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध जवरजस्ती करणी मुद्धामा म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *