राष्ट्रिय

संसदको सुरक्षाका लागि सांसदहरूको ‘पीसीआर’ परीक्षण गरीने

विराटनगर, २५ वैशाख । भोलिबाट सुरु हुने संसदको बजेट अधिवेशनअघि आज सांसदहरूको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

कोरोना महामारीकाबीच सुरु हुने यो अधिवेशनका लागि विभिन्न जिल्लाबाट सांसदहरु आएपछि सिंगो संसदको सुरक्षाका लागि परीक्षण गरिएको हो । संघीय संसद भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । संघीय संसद भवनको ल्होत्से हलमा

आज बिहान साढे १० बजे सुरुमा राष्ट्रियसभाका सांसदहरु र त्यसलगत्तै प्रतिनिधिसभाका सांसदहरुको पालैपालो स्वाब संकलन गरिएको थियो । स्वाब संकलनका लागि सांसदहरुको विवरण संकलन गर्न तीनओटा डेस्कको व्यवस्था गरिएको थियो ।

जनस्वास्थ्य विभागका विज्ञहरूले सामाजिक दूरी कायम गरी स्वाब संकलन गरेका थिए । भोली सुरु हुने बजेट अधिवेशनमा विभिन्न जिल्लामा रहेका सांसदहरुसमेत काठमाडौं आएकाले पीसीआर परीक्षण जरुरी रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । यसैवीच संघीय संसदका सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछिमात्र सांसदहरुलाई हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । कुनै सांसदमा कोरोना संक्रमण पाइएमा हलमा छिर्न पाउने छैनन् । संघीय संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा आज सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

पीसीआर परीक्षण रिपोर्ट भोली बिहानसम्म आइसक्ने जनाइएको छ । उक्त रिपोर्ट देखाएरमात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने समितिले निर्णय गरेको हो । कोरोना परीक्षण नभएका सांसदहरु भने भोली बस्ने बैठकमा सहभागी हुन पाउने छैनन् ।

स्वाब संकलन गर्न बाँकी रहेका सांसदको कोरोना परीक्षण भोली बिहान गरिने छ । यस्तै, समितिले संसद अधिवेशन सुरु भइसकेपछि कुनैपनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णयसमेत गरेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *