समाचार

संविधान संशोधन प्रस्ताव दर्ता

विराटनगर, ९ जेठ । संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो । हालको उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन ।

सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो । संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो । अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने निर्णय भएको सरकरका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो ।

अर्थ/सञ्चारमन्त्री समेत रहनुभएका प्रवक्ता डा. खतिवडाले अनुसूची ३ र निशान छापलाई परिमार्जन गर्न मात्रै संविधान संशोधनको प्रस्ताव पेश हुने बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो ।

नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ताको प्रयास गरिरहको उहाँले बताउनुभयो । कुटनीतिक माध्यमबाट वार्ता गरी समस्या समाधान हुनेमा सरकार आशावादी रहेको उहाँले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *