समाचार

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

काठमाण्डौ ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशबाट बिहे गरेर ल्याइएकी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा निर्णय गरेको छ ।

आज विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग भने अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राख्नुभएको थियो तर अरु नेता भने सो कुरामा सहमत भएनन् ।

नेकपाका एक नेताकाअनुसार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत भएका छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन ।

पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनाएको थियो ।साथै प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुसँग सहमति गर्ने बताएपछि गृहमन्त्री रामबहादुर थापा (बादल)ले ५ दिन समय माग्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस नेताहरुसँग छलफल गर्नुभएको थियो ।

हिजो राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि आज सचिवालयको बैठक बोलाइएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *