अर्थ तथा बणिज्य

मोरङ ,सुनसरीका उद्योगहरु आंशिक मात्र खुला

विराटनगर १ बैशाख । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा खाद्यान्न र खाद्यवस्तुका उद्योगहरू आंशिक रूपमा चल्न थालेका छन ।

खाद्यान्न उद्योगमा काम सुरु भएपछि प्याकेजिङ उद्योगहरू पनि छिटपुट मात्रै खुलेका छन । सरकारले खाद्यान्न र खाद्यवस्तु लगायत दैनिक उपभोगमा आवश्यक सामग्रीका उद्योग खोल्न अनुमति दिएसँगै प्याकेजिङ उद्योगहरु खुलेका हुन ।

दूध, चाउचाउ र पिठोको प्याकेजिङका लागि प्लास्टिकका प्याकेट बनाउने तथा चामल प्याकिङ गर्न प्लास्टिककै बोरा उत्पादन गर्ने विराटनगरको पशुपति पोलिप्रोपलिन उद्योग १० प्रतिशत क्षमतामा चल्न थालेको छ ।

मोरङमा चामल प्याकिङका लागि प्लास्टिकका बोरा उत्पादन गर्ने अर्काे उद्योग कृष्णा फेब्रिकेटेडका सञ्चालक सन्तोष अटलले आफ्नो कारखाना २५ प्रतिशत मात्र सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उद्योगी अटलले केही चामल उद्योगहरू आंशिक रूपमा सञ्चालन हुन थालेको हुँदा आफ्नो उद्योग पनि थोरै मात्रामा सञ्चालनमा आएको बताउनुभयो । उद्योगी राजकुमार गोल्छाको सञ्चालनमा रहेको जुटका बोरा बनाउने अरिहन्त मल्टिफाइवर्स पूर्णत बन्द छ भने प्लास्टिकका बोरा बनाउने अरिहन्त पोलिप्याक उद्योग एक हप्ताजति चलेर बन्द भएको छ ।

गोल्छाका अनुसार जुटका बोराको माग विशेषगरी भारतका बजारमा अहिले पनि उच्च छ। भारतमा अहिले पनि चामल उद्योग चलिरहेका छन् । चामल, आलु, प्याज, भुस र चोकर आदि प्याकिङ गर्न बोराको खपत ठूलो छ ।

तर मजदुर आउन नपाएका कारणले अरिहन्त मल्टिफाइवर बन्द गर्नुपरेको छ । उत्पादन गरे पनि यति बेला निर्यात गर्न समस्या छ । मोरङ र सुनसरीमा रहेका २१ वटा कार्टुन उद्योगमध्ये बुढीगंगा गाउँपालिकाको अरिहन्त अटोकोरोगेसन प्रालि मात्र सञ्चालनमा छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *