समाचार

तस्करीका सामान सहित पाँच जना पक्राउ

विराटनगर, २४ असार । भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा आज बिहान मोरङका तीन ठाउँबाट प्रहरीले तस्करीका सामान बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१६ भट्टीमोडबाट बिहान तस्करीको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतबाट आउँदै गरेका दुईवटा साइकल चेकजाँच गर्ने क्रममा फेन्सी सामान र कपडा बरामद भएको थियो । त्यस लगत्तै साइकल लिएर आउँदै गरेका विराटनगर – १५ का २५ वर्षीय मुन्ना मण्डल र २८ वर्षीय मोहम्मद सोरहालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँकाअनुसार दुई जनाबाट भन्सार छली गरेर ल्याएका ४४ हजार मूल्य बराबरका सामान बरामद भएका छन् ।

त्यस्तै प्रहरीले भारतदेखि अवैध रुपमा पानीपुरी, कपडा तथा किराना मालसामान ल्याउँदै गर्दा बिहान एक जनालाई पक्राउ गरेको छ । विराटनगर – १६ दरैयाबाट पक्राउ पर्नेमा २६ वर्षीय अरुण साह रहेको डीएसपी राईले बताउनु भयो । साहका साथबाट २२ हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाइ छ ।

उता मोरङको जहदा गाउँपालिका–२ जयराम चौकबाट प्रहरीले भारतदेखि टेलिभिजन सेट तस्करी गरेर ल्याउँदै गर्दा दुई जनालाई पक्राउ परेका छन् । बिहान ६ः३० बजेतिर पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–२ का २६ वर्षीय सचिन मण्डल र जहदा–७ का ४० वर्षीय प्रशान्त मण्डललाई पक्राउ गरिएको डीएसपी राईले बताउनु भयो ।

उहाँकाअनुसार भारतबाट आउँदै गरेको को २७ प ४७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा तस्करी गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा दुईवटा ३२ इन्चको एलइडी टेलिभिजन सेट बरामद भएको छ । सचिन मोटरसाइकलका चालक हुन् ।

अवैध सामानसहित पक्राउ परेकाहरु नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको लाइन चलाउने पुराना तस्कर रहेको प्रहरीले दाबी गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ दैनिक रुपमा भन्सार छली गर्दै सामान कटाउने धन्दामा उनीहरुको संलग्नता रहने गरेको डीएसपी राईले बताउनु भयो ।

पक्राउ परेकाहरुलाई उनीहरुबाट बरामद भएका मोटरसाइकल, साइकल र तस्करीका सामानसहित आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *