विराटनगर

भारतबाट विराटनगर छिरे १५ युवा

विराटनगर, ३० वैशाख । लकडाउन जारी रहेसँगै सीमा बन्द भए पनि भारतबाट १५ जना युवा आज बिहान जोगवनी नाका हुँदै विराटनगर प्रवेश गरेका छन् । नेपाल आउने क्रममा विभिन्न स्थानबाट करिब १५ दिनको हिँडाईपछि उनीहरु विराटनगर आइपुगेका हुन् ।

लकडाउनसँगै सीमा बन्द भएको अवस्थामा मोरङ, सुनसरी तथा झापाका स्थानीय युवा बिहान २ बजे विराटनगर आइपुगेका हुन् । बिहानै आएका सबै जनालाई सुरक्षाकर्मीले भारतीय सीमानजिक विराटनगर महानगरपालिका– १६ हुलास मेटलमा रोकेर राखेका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले लुकिछिपी नेपाल प्रवेश गरेका सबै जनालाई तत्काल सुरक्षाका हिसाबले राखिएको जानकारी दिनु भयो । उहाँका अनुसार हाल राखिएका मध्ये सुनसरीको गढी गाउँपालिकाका पाँच जना, झापा शिवसताक्षीका दुई, झापा कन्काईका दुई, इटहरीका दुई, इनरुवा, मोरङ सुन्दरहरैंचा, पथरीशनिश्चरे र धरानका एक एक जना रहेका छन् ।

नेपाल छिरेका १५ युवा भोकभोकै रहेको पाइएपछि विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले उनीहरुलाई खाजा नास्ताको व्यवस्था गरिदिनु भएको छ । हाल प्रहरीको निगरानीमा रहेका १५ जना मध्ये ११ जना दिल्ली र चार जनाले विहारमा मजदुरी काम गर्दै आएको बताइएको छ ।

उनीहरु लकडाउनसँगै दिल्लीबाट १५ दिनको कष्टकर यात्रा पूरा गरेर मध्यरात नेपाल प्रवेश गरेका हुन् । हाल सीमापारी जोगवनीको मिडिल स्कुलमा अझै करिब ५० को संख्यामा नेपालीहरु रहेको उनीहरुले बताएकाछन् । कोरोनाभाइरस कोभिड १९ सँगै काम पाउन गाह्रो र खानपानमा समस्या भएपछि आफ्नै घर फर्किएका हुन् ।

यता गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले गाउँपालिकाका स्थानीय आएको जानकारी पाएको बताउनु भएको छ । उहाँले स्थानीय प्रशासनसँग समन्वय गरेर सबै जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइने जानकारी दिनु भयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *