समाचार

बैंकको ब्याज घटाउन पूर्वका व्यवसायीको माग

विराटनगर, २२ असार । प्रदेश नम्बर १ भरिका ४२ वटा व्यावसायिक संघसंस्थाले बैंकमा हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाई ऋण प्रवाह गर्न माग गरेका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका नेतृत्वमा प्रधानमन्त्री, प्रदेश नम्बर १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकलाई छुट्टाछुट्टै ज्ञापनपत्र दिँदै व्यवसायीले हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाउन आग्रह गरेका हुन् ।

आग्रह गर्नेमा प्रदेश भरिका जिल्लानगर उद्योग वाणिज्य संघ, नेउवा महासंघ प्रदेश नम्बर १, होटल संघ र वस्तुगत संघहरू छन् । सरकारले हाल ब्याजदरमा २ प्रतिशत घटाउने निर्णय गरेको छ । व्यवसायीले मोरङका प्रजिअ मदन भुजेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यमन्त्री शेरधन राई र नेपाल राष्ट्र बैंकका विराटनगर प्रबन्धक रोशन सिग्देल मार्फत बैंकका गभर्नरलाई ज्ञापनपत्र दिएका हुन् ।

व्यवसायीको समूहमा गएका उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । ज्ञापनमा कोभिड–१९ को रोकथाम एवम् नियन्त्रणका लागि सरकारद्वारा जारी भएको लकडाउनका कारण उद्योग,व्यवसाय बन्द भए पनि कलकारखाना, गोदाम, विद्युतको न्यूनतम शुल्क, कर्मचारीको तलब, ज्याला, बैंकको ब्याज, साँवाको दायित्व लगायत कर शुल्क बुझाउनु परेको उल्लेख छ ।

गर्दा निजी क्षेत्रलाई ठूलो आर्थिक व्ययभार पर्न गई धराशायी हुने अवस्था सृजना भएको पत्रमा लेखिएको छ । व्यवसायीले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत आएको पुनर्कर्जाको सुविधालाई साना, मझौला र ठूला उद्योगव्यवसायले सहज र सरल तवरमा कुनै पनि बाधा–व्यवधानबिना उपभोग गर्न पाउने व्यवस्था हुनुपर्ने माग पनि गरेका छन् ।

यस्तो पुनर्कर्जाको सुविधा प्रदेश नम्बर १ मा रहेको नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत सहज रूपमा उपलब्ध हुने व्यवस्था गराइदिन पनि पत्रमा आग्रह गरिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *