समाचार

प्रबेश परीक्षा नलिएको पोखरिया माध्यामिक विद्यालयको दाबी

विराटनगर १५ जेठ । लकडाउनको समयमा प्रवेश परीक्षा लिएको भनि आफूहरुमाथि लगाएको आरोप निराधार र कपोलकल्पित भएको विराटनगरस्थित पोखरिया माध्यामिक विद्यालयले बताएको छ ।

विराटनगर–३ स्थित पोखरिया माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुलाई लकडाउनको समयमा प्रवेश परीक्षा लिनुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभएको हो ।

‘विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरणको तयारी गरिरहेको समयमा मोडर्न एरा बोर्डिङ्ग स्कुल, विराटनगरका सञ्चालक इन्द्र राई अत्यन्तै अराजक र उद्दण्ड शैलीमा विद्यालय हातामा प्रवेश गरी हामी शिक्षक, उपस्थित अभिभावक तथा विद्यार्थीहरु समेतलाई आतंकित पार्ने र अपशब्द समेत प्रयोग गरी निम्नस्तरको गाली गलौजमा उत्रिएको घटनाप्रति हामी क्षोभ प्रकट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामीले उहाँको सामाजिक मर्यादा र पेशागत संवेदनशिलताको सम्मान गर्दै संयमता अपनाएकै थियौं ।

तर यसको उल्टो उहाँलगायत उहाँको समूहले हाम्रो धैर्यतालाई कमजोरी ठानी हाम्रो विद्यालयप्रति नै निराधार र कपोलकल्पित लाञ्छना लगाउने र त्यसलाई प्रचारबाजी गर्ने दुर्नियतले सामाजिक सञ्जालहरु र केहि सञ्चार माध्यममा आफ्नो स्वार्थ सिद्ध गर्ने निकम्मा प्रयत्न गर्नुभयो ।’

पोखरिया विद्यालयले लकडाउनको समयमया प्रवेश परीक्षा लिएको भन्दै कारबाहीको माग गर्दै आज विज्ञप्ति प्रकाशन गरेको थियो । पोखरिया माविले भने प्याब्सनले आरोप लगाएजस्तो गरी लुकिछिपी विद्यार्थी भर्ना गर्नुपर्ने आफूहरुलाई कुनै आवश्यकता नभएको बताएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *