प्रदेश १

प्रदेश १ मा १ हजार ८ सयको परीक्षण

\विराटनगर, ६ वैशाख । प्रदेश १ मा पिसिआर र आरडिटीबाट १ हजार ८ सयको परीक्षण गरिएको छ । आज सम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको हो । दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ ।

आज सुनसरीको हरिनगरमा परीक्षण गर्दा एक जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी दुई जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ । पीसीआर विधिबाट गरिएका ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ ।

उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । पोजेटिभ आएका सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरु हुन ।

संक्रमित मध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनिहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ । आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ ।

पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण भएको हो । ५७ महिला र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो ।

कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आजसम्म ६ सय ६ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *