समाचार

प्रदेश १ को बजेट कर्मकाण्डी भएको कांग्रेसको टिप्पणी

विराटनगर २ असार । नेपाली कांग्रेसले प्रदेश १ को सरकारले ल्याएको बजेट कर्मकाण्डी र कार्यान्वयन नहुने भन्दै टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलले आज बजेट र यसको कार्यान्वयन पक्षको विषयमा अर्थविदसँग भर्चुअल छलफल चलाएको छ ।

छलफलमा सहभागीले अर्थतन्त्र नै संकटमा परेका बेला संघीय सरकारको नीतिसँग तालमेल नहुने गरी प्रदेशले बजेट ल्याएको विज्ञले समेत टिप्पणी गरेका छन् । अर्थविद डा. गोविन्द पोखरेलले प्रदेश सरकारबाट आएको बजेट कार्यान्वयनमुखीभन्दा पनि प्रचारमा आधारित भएको टिप्पणी गनुभयो । उहाले भन्नुभयो “लकडाउनले थिलोथिलो भएका उद्योगलाई सम्बोधन गरिएको छैन । औद्योगिक राहत र मजदुरलाई समेटिएको छैन ।” अन्य कतिपय प्रदेशले खर्च कटौतीको प्रस्ताव गरे पनि प्रदेश १ ले भने नल्याएको उहाको भनाइ थियो ।

अर्थविद राजु नेपालले खर्च हुनै नसक्ने बजेट ल्याएको आरोप लगाउनुभयो । उहाले ३० अर्ब ३४ करोड मात्र खर्च हुन्छ भने किन आयो ४० प्रतिशतले बढेर भन्ने प्रश्न तेर्सिएको बताउनुभयो ।” संघीयतासँग मेल खाने गरी बजेट नआएको र माथिको सरकारसँग तालमेल नभएको नेपालको भनाइ थियो ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला पनि सहभागी हुनुभएको थियो । उहाले केन्द्रीय सरकार नै ऋण लिने तयारीमा रहेका बेला माथिकै सरकारको भरमा बजेट ल्याउनु अस्वाभाविक भएको बताउनुभयो ।

विपक्षी देलका नेता राजीव कोइरालाले बजेट कर्मकाण्डी रुपमा आएको बताउँदै “बजेटका कार्यक्रमहरु विगत झैं पूरा नहुने देखिएको बताउनुभयो ।

सांसद शिवनारायण सिंह गन्गाईले भौतिक पूर्वाधारमा १७ अर्ब १२ करोड बजेट छुट्याउनुले यो फेरि कार्यान्वयन हुन सक्ने अवस्थामा जाने बताउँदै भन्नुभयो “कृषिमा कार्यक्रम थुप्रै छन् तर बजेट ३ अर्ब ८३ करोड छुट्याएको छ । उहाले उद्योगमा अली बढी बजेट छुट्याउनु पर्नेमा त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो ।

प्रमुख सचेतक केदार कार्कीले पूरा नहुने दस्तावेजका रुपमा बजेट २०७७ ÷०७८ आएको बताउँदै “बजेट कार्यान्वनय हुने अवस्था नदेखिएको बताउनुभयो ।” सांसद हिमाल कार्कीले बजेटको कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो ।

सांसद नवोदिता चौधरीले प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा ल्याएका नारा राम्रो भए पनि धेरैलाई बजेटले समेट्न नसकेको र “सरकारले ल्याएको बजेटले जनताको विकास चाहनालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । ”

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *