मुख्य समाचार स्वास्थ्य

नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

विराटनगर, ६ असार । नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो । आज थपिएका ३ सय ३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ८, सुनसरीमा २ र झापामा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा ८ पुरुष, सुनसरीको कोशी गाउँपालिकामा २ महिला र झापाको गौरीगञ्जमा १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । प्रदेश १ मा १८ हजार १ सय ६१ जनाको स्वाव संकलन गरिएको छ । आज ३ सय ५६ जनाको स्वाव संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६ हजार ५ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ बाट आज सम्म १६ हजार ५ सय ७६ जनाको आरडिटी गरिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *