विराटनगर

नटेर्ने निजी अस्पताल सरकारीकरण गर्न सुझाव

विराटनगर, २८ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ मा गठन भएको सर्वदलीय कमिटीले वडा तहसम्म सर्वदलीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला, स्थानीय तह र वडासम्म सर्वदलीय कमिटी गठन गर्ने निर्णय गरेको हो । सम्भावित प्रकोपबाट सुरक्षित रहने समग्र कार्ययोजनालाई प्रभावकारी कार्यन्वयन गर्न वडा तहसम्मको सर्वदलीय कमिटी सक्रिय बनाउने निर्णय पनि भएको छ ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको अभियान सञ्चालन तथा बनेका कार्ययोजना कार्यान्वयनका क्रममा आवश्यक सुझाव लिन सात सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ । सल्लाहकार समितिमा नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्य, काग्रेंस केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेकपा प्रदेश १ का सहइन्चार्ज सावित्रिकुमार काफ्ले, केन्द्रीय सदस्य गुरु बराल, समाजवादी पार्टीका नेता जयराम यादव, नेपाली काग्रेंसका नेता पवन सारडा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्दिरा राई रहनुभएको छ ।

तीनै तहका सरकारहरुको निर्णय र कार्ययोजना कार्यान्वयन सम्वन्धी स्थलगत अनुगमन गरेर सर्वदलीय कमिटीले प्रदेश सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । सरकारलाई बुझाएको प्रतिवेदनमा लकडाउन पूर्णरुपमा पालना नभएको र सामाजिक दुरी ख्याल नगरीकोले कुनैपनि भयावह अवस्था आउनसक्ने तर्फ सचेत गराइएको छ ।

अस्पतालहरु तथा क्वारेन्टायनहरुमा स्वास्थ्यकर्मी र चिकित्सकहरुको अभाव रहेको, स्वास्थ्य औजार र सामग्रीको अभाव रहेको, आइसोलेसन वेड, आइसियु र भेन्टिलेटर अपुग भएको भन्दै त्यस तर्फ प्रयाप्त ध्यान दिन प्रतिवेदन मार्फत प्रदेश सरकारलाई आग्रह गरिएको छ । प्रतिवेदनमा औषधी भण्डारण सकिदै गएको, सीमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको, क्वारेन्टाइनको बसाई जेलजस्तो भएकोले मानिसहरुले १४ दिनमै घर पठाउन दवाव दिने गरेको जस्ता समस्याहरु अनुगमनका क्रममा भेटिएको उल्लेख छ ।

दैनिक उपभोग्य वस्तु र खाद्यान्न आपुर्तिमा असहजता उत्पन्न भएको राहत र विकास निर्माण सम्वन्धी बजेटको नीतिगत जटिलता समाधान भएको, विद्यार्थी, मजदुरहरुको व्यवस्थापन र उनीहरुलाई उचित सम्वोधन नभएको, राहत वितरणमा भीडभाड भएको र व्यवस्थापनमा ध्यान नपुगेको, राहत दिनुपर्ने व्यक्तिको छनौट सहिढंगले नभएको जस्ता समस्याहरु अनुगमनका क्रममा भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *