समाचार

दुर्घटनामा चार जनाको मृत्यु

विराटनगर, ४ फागुन । मोरङका अलगअलग स्थानमा आज र गयराति भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ तिरुपति पेट्रोल पम्प अगाडि आज दिउँसो को ३७ प ९५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार साधुको भेषमा पैदल यात्रा गरिरहेका बेला उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले अन्दाजी ६०÷६५ वर्षीय वृद्धलाई ठक्कर दिएर घाइते बनाएको थियो । पहिचान नखुलेका वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको पोदारले बताउनु भयो । मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका–१ का २८ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन् ।

चौधरीको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै ग्रामथान गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आज बिहान ठक्कर दिँदा पैदल यात्रु ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका ग्रामथान –३ का माझीको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोदारले बताउनु भयो ।

चालक २० वर्षीय चन्द्र मिर्गा फरार रहेको जानकारी उहाँले दिनु भयो । यता जहदा गाउँपालिका– ५ स्थित भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । को ३७ प ९७४३ र को १२ प ६२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ९७४३ का चालक जहदा–५ का २५ वर्षीय वीरेन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा आज बिहान ११ बजे विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि को १२ प ६२२ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका–१ स्थित भित्री सडक खण्डमा गयराति रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक पोदारका अनुसार सडकमा रोकेर राखेको को २ त २८०० नम्बरको ट्याक्टरमा को २७ प ४६५० नम्बरको मोटरसाइकल पछाडिबाट आएर ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय अवित मियाँको उपचारका क्रममा राति ११ बजे रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *