समाचार

ट्राफिक नियम मिच्दा बढी दुर्घटना

विराटनगर, १२ फागुन । प्रदेश १ मा पछिल्लो समय सडकमा ट्राफिक नियम मिच्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार समग्र दुर्घटनाको ६० प्रतिशत नियम मिचिएका कारण भएको पाइएको छ ।

४० प्रतिशत दुर्घटनाका अन्य कारण छन् । ट्राफिक प्रहरीको तथ्याँकअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म प्रदेश १ मा आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय ४३ वटा सवारी साधन परेका छन् । दुर्घटनामा दुई सय २२ जनाको मृत्यु भएको छ । मोटरसाइकल बढी नियम मिच्ने र दुर्घटना हुने सवारी साधनमा परेको छ ।

आर्थिक वर्षको हालसम्म भएका पाँच सय ६३ मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । एसपी दाहालले चालकले नियमको पालना नगरिकन लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउने गरेका कारण दुर्घटना बढीरहेको बताउनु भयो । ‘ट्राफिक नियम मेरै सुरक्षाका लागि हो, र मैले पालना गर्नु पर्छ’ भन्ने भावनाको कमी हुँदा दिन प्रतिदिन नियम उल्लंघनबाट हुने सवारी दुर्घटनाको संख्या बढीरहेको उहाँको भनाइ छ ।

एसपी दाहालले मान्छेमा ‘नियमको पालना भनेको ट्राफिक प्रहरीको कारबाहीबाट जोगिन’ मात्रै हो भन्ने भावना हाबी हुँदा सडकमा समस्या रहेको बताउनु भयो । ‘सवारी चालकमा नियम सुरक्षाका लागि भएकाले पालना गर्नु पर्छ भन्ने मनोभावना जागृत भएको देखिन्न,’ उहाँले भन्नु भयो, ‘जसले गर्दा सडक सुशासन कायम हुन सकेन र दुर्घटना तथा त्यसको जोखिम पनि कम भएन ।’ विभिन्न कार्यक्रममार्फत नियमका बारेमा सचेतना जगाउने गरिएको बताउँदै दाहालले चालकले ट्राफिक नियम पालनामा ध्यान पुर्याउँदा दुर्घटनाबाट हुने मानविय एवं भौतिक क्षति कम हुने उल्लेख गर्नु भयो ।

एसपी दाहालले नियम उल्लंघन गर्ने क्रममा मोटरसाइकलमा दुई जना भन्दा बढी चढ्ने, हेल्मेट र त्यसको क्लिप नलगाउने, तीव्र गतिमा कुदाएर एकले अर्को सवारीलाई ओभरटेक गर्ने, गलत साइड प्रयोग गर्ने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना गाडी चलाउने, मापसे गरेर सवारी चलाउने, लेन अनुसाशन र ट्राफिक संकेतहरुको पालना नगर्ने आदि कारणले दुर्घटना धेरै भइरहेको बताउनु भयो ।

दुर्घटनामा चालक बढी जिम्मेवार हुने उहाँको भनाइ छ । ४० प्रतिशत दुर्घटना अन्य कारणले भएको ट्राफिक प्रहरीको भनाइ छ । सडक र सवारी साधनको अवस्था, यान्त्रिक गडबडी, छाडा पशु चौपाय, जथाभावी बाटो काट्ने पैदल यात्रु, सडकमा उचित सूचनाको अभाव, सडकको असुरक्षित ट्रयाक, सवारी साधनको अत्याधिक चाप, ट्राफिक संकेत र सूचनाहरु पर्याप्त नहुनु दुर्घटनाका अन्य कारण रहेको एसपी दाहालले बताउनु भयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *