राष्ट्रिय

चीनबाट सेनाले ३४० टन स्वास्थ्य सामग्री ल्याउने

विराटनगर, ८ वैशाख । नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले हिजो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो । पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ ।

‘चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयोे, ‘कति रकम पठाउने र कुन विधिबाट पठाउने भन्ने भोलि नै टुंगो लाग्नेछ ।’ सरकारले स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई बजेट सिलिङ दिएको थिएन । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामग्रीलाई सोही अनुरुप भुक्तानी दिने भनिएको थियो ।

चीनसँग दुईपक्षीय सम्झौता र भुक्तानीपछि चीनको गोन्जाओबाट सेनाले पीपीई, मास्क, ग्लोब्ससहित अन्य आवश्यक स्वास्थ्य सामग्री ल्याउनेछ । ओम्नी विजनेस कर्पाेरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि १६ चैतमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको थियो । मन्त्रिपरिषद् बैठकले सेनालाई जीटूजी (सरकार–सरकार) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्न भनेको थियो ।

त्यसलगत्तै जंगीअड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्री गर्न प्रस्ताव राखेको थियो । तीमध्ये चीन र भारतले मात्र स्वीकृति जनाएका थिए । इजरायल र सिंगापुरबाट कुनै जवाफ आएको थिएन ।

नेपाली सेनाले खरिदको जिम्मा पाएको सात दिनपछि पत्रकारहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यथाशीघ्र विवादरहित रुपमा स्वास्थ्य सामग्री ल्याउने घोषणा गरेको थियो । जंगीअड्डाको खरिद ईकाईले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढाएको थियो । जसअनुसार भारतले दिल्लीस्थित नेपाली दूतावासमा ती औषधि जम्मा गरिदिनेछ । र, त्यहाँबाट नेपालमा औषधि ल्याइनेछ ।

हालसम्म दूतावासमा औषधि जम्मा भइसकेको छैन । सेनालाई खरिदको जिम्मा दिने निर्णय पनि विवादमा तानिएपछि स्वास्थ्य सेवा विभागबाट पनि छुट्टै खरिद प्रक्रिया अघि बढिरहेको छ । जसका लागि विभागले तीन वटा कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *