बिबिध विराटनगर

कोरोना विरुद्ध लड्न युवालाई एक जुट बनाउँदै प्रहरी

विराटनगर, २६ चैत । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन मोरङमा ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान सुरु गरिएको छ ।

संक्रमण नियन्त्रण गर्न र फैलन नदिन सरकारले ‘लकडाउन’ गरिरहेका बेला त्यसलाई प्रभावकारी बनाउन र कोरोना विरुद्ध लड्न समुदाय स्तरबाट प्रहरीका गतिविधीसँग युवालाई जोड्दै नयाँ दस्ता तयार पारेर परिचालन गर्न थालिएको हो ।

सर्वसाधारण नागरिकलाई लक्षित गर्दै प्रहरीले विगतदेखि नै सञ्चालन गरिरहेको ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत यो अभियानको थालिएको छ । प्रहरीका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘टोलटोलमा प्रहरी’ लगायतका अभियान जारी छन् ।

ती अभियान भन्दा भिन्न नाम दिएर कोरोना विरुद्ध लड्न सबैलाई एकजुट बनाउने उदेश्यले ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान सञ्चालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

उहाकाअनुसार यो अभियानमा जोडिएका युवाले ‘लकडाउन’लाई प्रभावकारी बनाउन र यसको कार्यान्वायनमा सहयोग गरिरहेका छन् । त्यस्तै ‘लकडाउन’मा घर बाहिर ननिस्कने, भीडभाडमा नजाने, मास्क प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने र स्यानीटाइजरको प्रयोग गर्ने लगायत कोरोना विरुद्ध नागरिकस्तरसम्म जनचेतना फैल्याउन प्रहरीलाई सहयोग गरिरहेको अधिकारीले बताउनु भयो ।

एक महानगरपालिकासहित १७ वटा स्थानीय तह रहेको मोरङमा एक सय ६९ वटा वडाहरू छन् । प्रत्येक वडामा न्यूनतम १० जनाको टोली बनाएर परिचालन गर्ने योजना अन्तर्गत अभियान अघि बढिरहेको एसपी अधिकारीले बताउनु भयो । अभियानमा जोडिएका युवालाई ‘प्रहरीको साथी म’ लेखिएको ‘टी सर्ट’ उपलब्ध गराइन्छ ।

प्रत्येक वडामा १० जनाको टोली तयार गर्दै मोरङभर एक हजार छ सय ९० युवालाई यो अभियानमा जोड्ने उदेश्य रहेको उहाँको भनाइ छ । ‘लकडाउन’ कै समयमा विराटनगर महानगरपालिका, पथरीशनिश्चरे र रंगेली नगरपालिकामा अभियान सुरु भइसकेको जानकारी एसपी अधिकारीले दिनु भयो ।

उहाँले ‘प्रहरीको साथी म’ अभियानमा आवद्ध भएर कोरोना विरुद्धको अभियानमा सहयोग गरिरहेका युवासँग मिलेर कोरोनाको महामारीपछि प्रहरीले समुदायमा काम गर्ने बताउनु भयो । उहाँकाअनुसार अभियानमा जोडिएका युवाले कोरोना महामारीपछि समुदायमा हुने आपराधिक गतिविधी नियन्त्रणमा प्रहरीलाई सहयोग गर्नेछन् ।

अपराधरहित र शान्त समाज निर्माणमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको एसपी अधिकारीले बताउनु भयो । अभियानमा जोडिएका युवाले महामारीपछि अपराध नियन्त्रणमा प्रहरीसँगै गस्ती पेट्रोलिङ पनि गर्ने बताइएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *