प्रदेश १

कोरोना परीक्षण बुथ प्रदेश १ सरकारलाई हस्तान्तरण

विराटनगर, २ वैशाख । कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । १ लाख १ हजार ७५ रुपैयाँको लगानीमा कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

मन्त्री घिमिरेले कोरोनाबाट जुध्नका लागि विभिन्न उपायहरु अवलम्वन गर्ने क्रममा इन्जिनियरले निर्माण गरेको वुथ एउटा त्यसको उदाहरण भएको वताउनुभयो । बुथको कोशी अस्पतालबाट एक विज्ञ टिम तयार गरि अध्ययन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ बुथ प्रयोगका विषयमा टिका टिप्पणी नहोस् भन्नका लागि टिम तयार गरिएको हो ।’

विज्ञ टिमको अध्ययन प्रतिवेदन मन्त्रालयमा आउन बाँकी रहेको उहाँले बताउनुभयो । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल पिनका प्रदेश अध्यक्ष दिपक पौडेलले मन्त्री घिमिरेलाई बुथको चावी हस्तान्तरण गर्नुभएको थियो ।

चार फिट चौडाई र ८ फिट उचाईको प्रविधियुक्त बुथ प्रदेश १ कै उत्कृष्ट र प्रभावकारी रहेको पिन प्रदेश अध्यक्ष पौडेलको दाबी छ । सो बुथमा कोरोना भाईरसकाका शंकास्पद व्यक्तिको स्वाव संकलन गरिनेछ ।

बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको छ । इन्जिनियर पवन झा, इन्जिनियर बिभास मिश्रा, इन्जिनियर बिक्रम केसी र इन्जिनियर सम्पूर्ण आचार्यले बुथ निर्माण गर्नुभएको हो ।

सामाजिक विकास मन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गर्नुभएको छ । कोशी अस्पतालमा गत शुक्रबार देखि कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन शुरु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *