समाचार

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान

विराटनगर, २५ असार । मोरङको कटहरी गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र सुनसरी मोरङको ५० प्रतिशत अनुदानमा सो गाउँपालिकाका ४० किसानलाई कृषि सामग्री उपलब्ध गराइएको हो । ज्ञानकेन्द्रको कटहरी–४ स्थित मकै पकेट सञ्चालक समितिले आज आयोजना गरेको कार्यक्रमकाबीच किसानहरुलाई कृषि कर्मका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको छ ।

सो क्षेत्रका किसानलाई मोटर १० एचपीको १० थान, त्रिपाल ५३ थान, ४ इन्च र ५ इन्चको डेलिभरी पाइप ४ सय केजी, सेक्सन पाइप ३ सय फिट, इलेक्ट्रोनिक तराजु १० थान, स्प्रे मेशिन ३० थान र होण्डा पम्पसेट ५ थान ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कटहरी–४ का वडासदस्य रमेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

मकै खेतीका लागि पकेट एरियाका रुपमा प्रवद्र्धन गरिएको वडानम्बर ४ र ६ का किसानलाई आवश्यकता अनुसारको सामग्री उपलब्ध गराइएको समितिका कटहरी अध्यक्ष रुपनारायण मण्डलले बताउनुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत, ज्ञानकेन्द्रका सुनसरी मोरङ अध्यक्ष नुनुलाल उराँव र कटहरी–४ का वडाध्यक्ष मन्टु शेखले किसानहरुलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष कामतले कटहरीमा कृषिक्षेत्रको प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको बताउनुभयो । ज्ञानकेन्द्रका अध्यक्ष उराँवले किसानहरुलाई आधुनिक उपकरणहरु उपलब्ध नगराएसम्म कृषिलाई आधुनिकीकरण गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले कटहरीमा कोल्डस्टोर स्थापना गर्न माग गरेका थिए ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *