समाचार

आत्तिनु पर्ने विचलित हुनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई

विराटनगर, १९ असार । प्रदेश १ बाट लकडाउनको अवधिमा २४ हजार भारत गएका छन् । प्रदेश १ का ४ वटा जिल्लाबाट हाल सम्म २४ हजार ८ सय १४ जना भारत गएका छन् ।

जसमा झापाबाट १९ हजार ९ सय ८१, मोरंगबाट ४ हजार ७ सय २१, सुनसरीबाट १ सय १० र इलामबाट २ जना रहेका छन् । सो अवधिमा भारतबाट १५ हजार ७ सय नेपाल प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा झापाबाट ९ हजार २ सय १७, मोरंगबाट ४ हजार २ सय २३, सुनसरीबाट १ हजार ८ सय ५४ र इलामबाट ४ सय ५३ गरि १५ हजार ७ सय ४७ नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेका मध्ये ११ हजार ७ सय ४६ प्रदेश १ का र ४ हजार १ अन्य प्रदेशका रहेका छन् ।

आज प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार संवन्धि हाल सम्म भएका कार्यहरुको सार्वजनिकीकरण गर्दै सो जानकारी दिएको हो । वैशाख ३० गते प्रदेश १ को संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी) बैठकले लकडाउनमा २५ हजार नेपाली भारतबाट आउने आँकलन गरेको थियो ।

भारत लगायतका विभिन्न देशहरुबाट आउने व्यक्तिहरुलाई राख्नका लागि प्रदेश १ सरकारले २४ स्थानमा होल्डिङ एरिया निर्माण गरिएको छ । झापामा १९, सुनसरी र इलाममा २–२ र मोरंगमा एउटा रहेको छ । २४ वटा होल्डिङ एरियामा २ हजार ९ सय ७२ वेड तयार गरिएको छ । प्रदेश सरकारका अनुसार अहिले सम्म १ सय ६० महिला र ३ सय ५१ पुरुष होल्डिङ एरियामा रहेका छन् ।

प्रदेश १ का क्वारेन्टिनमा २ हजार ३ सय ४९ र होम क्वारेन्टिनमा ३ हजार १ सय ७२ जना रहेका छन् । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । कोषमा जम्मा भएको रकम मध्ये २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट संकलन भएको प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।

कोषमा जम्मा भएको रकममध्ये २७ करोड ३३ लाख ८९ हजार खर्च भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट गर्ने गरिएको जनाएको छ ।

संक्रमितको उपचारका लागि ३ सय ५३ वेड क्षमता रहेको छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा आत्तिनु पर्ने अवस्था नभएको बताउनुभयो । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले व्यवस्थित रुपमा काम गरिरहेको बताउनुभयो । अहिले सम्मको अवस्थामा आत्तिनु पर्ने विचलित हुनुपर्ने अवस्था नभएको मुख्यमन्त्री राईको भनाई छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *