विराटनगर

अस्पतालले भर्ना लिन नमानेका बिरामीको मृत्यु

विराटनगर, १९ वैशाख । ज्वरो आएको कारण विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा एक विरामीको समयमा उपचार नपाएर मृत्यु भएको छ ।

खेतमा प्रयोग हुने किटनाशक औषधि हार्बिसाइड सेवन गरेका सुनसरीको देवानगञ्ज १ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा हिजो साँझ मृत्यु भएको हो । गत आइतबार विराटनगरको कोशी अस्पतामा भर्ना गरिएका उनलाई भेन्टिलेटर आवश्यक पर्ने भएपछि बुधबार साँझ अन्यत्र रेफर गरिएको थियो ।

मिर्गाैला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटर चाहिने भएकोले अन्यत्र रेफर गरेको कोशी अस्पतालले जनाएको छ । कोशीबाट रेफर भएपछि भेन्टिलेटर भएको अस्पताल खोज्दै बुधबार साँझदेखि हिजो दिउँसोसम्म आफन्तले विराटनगरका अस्पताल चाहारेका थिए । तर, रविन्द्रलाई ज्वरो आएकोले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना नगरेपछि अपरान्ह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार साँझ भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै कोशीले रेफर गरेपछि आफन्तले विराटनगरस्थित नोबेल मेडिकल कलेज लगेका थिए । नोबेलले ज्वरो आएको कारण भर्ना नगरेपछि उनीहरू लाइफगार्ड अस्पताल पुगेका थिए । ज्वरो नापेर अस्पतालले गेटबाटै फर्काएपछि बाध्य भएर मध्यरातमा आफन्तले विरामीलाई घर लगेका थिए ।

विराटनगरका कुनै पनि अस्पतालले भर्ना नलिएपछि दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले रवीन्द्रलाई धरान लगेको थियो । विराटनगरमा उपचार नपाएर एम्बुलेन्समा घुम्दाघुम्दै उनको मुखबाट रगत निस्कन थालेको थियो ।

सुनसरी प्रहरीको संयोजनमा बीपी प्रतिष्ठानमा भर्ना गरिएका उनको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसैवीच सुत्केरी व्यथा लागेको उदयपुरकी एक महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेशन थिएटरबाटै निकालिदिएको छ । प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई अप्रेसन थिएटरबाट कलेजले निकालेको हो ।

शल्यक्रियाबाट बच्चा जन्माउनसबै प्रक्रिया पूरा भएपछि अप्रेसन थिएटरमा लगिएकी युवतीलाई चिकित्सकले ठेगाना उदयपुर गाईघाट देखेपछि शल्यक्रिया नगरी फिर्ता पठाएका हुन् । उनको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उनले कोशीमा वच्चा जन्माएकी छिन् । कोशी अस्पतालले महिलामा भने ज्वरो नदेखिएको दाबी गरेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *